काठमाडौ ४ माघ ।
संसदीय सुनुवाई विशेष समितिमा सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीश विरुद्ध तीनवटा उजुरी दर्ता भएका छन् । निर्धारित दस दिनको समयभित्र सर्बोच्चमा प्रस्तावित न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीमाथि तीन उजुरी दर्ता भएको हो ।
यद्यपी समिति सचिवालयले उजुरी औपचारिक रूपमा सार्वजनिक भने गरेको छैन । समिति सचिवालयले गत पौष २१ गतेबाट दस दिनको समय दिएर सर्वसाधारण समेतलाई उजुरी दिन समय दिएको थियो ।
संसदीय सुनुवाई विशेष समितिका सचिव ध्रुवप्रसाद घिमिरेले दुई न्यायाधीशविरुद्ध तीनवटा उजुरी प्राप्त भएको बताउनुभयो । कार्यविधि अनुसार समितिमा सार्वजनिक गरेपछि मात्र कसका विरुद्ध कुन उजुरी भन्ने थाहा हुने घिमिरेले बताउनु चयो ।
न्याय परिषद्ले गत पौष १९ मा प्रस्तावित न्यायाधिशको सुनुवाई प्रक्रिया अगाडि बढाउन समितिलाई पत्राचार गरेको थियो । प्राप्त उजुरी अब समितिमा पेस भएपछि थप अनुसन्धान आवश्यक परेमा उजुरीकर्ता र अन्य सरोकारवालासँग छलफल गर्न सक्नेछ ।
न्याय परिषद्को पौष १८ गतेको बैठकले सर्वोच्चमा रिक्त दुई न्यायाधीशका लागि उच्च अदालतका दुई मुख्य न्यायाधीशको नाम सिफारिस गरेको थियो । परिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तेजबहादुर केसी र पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।