काठमाडौँ, ३ माघ ।
स्थानीय तह पुनःसंरचना आयोगले काठमाडौँको उत्तर पूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनहरा नगरपालिकामा मिसाइएको विरोधमा सबै राजनितिक दल तथा स्थानीयवासी आन्दोलित बनेका छन् ।
पुरातात्विक, ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनहरा नगरपालिकामा गाभेको भन्दै असन्तुष्ट स्थानीयवासीले २ नं क्षेत्रबाट निर्वाचित सांसद दीपकप्रसाद कुइँकेलको संयोजकत्वमा सबै दलका प्रतिनिधि सदस्य रहेको शङ्खरापुर नगरपालिका बचाउ सङ्घर्ष समिति गठन गरेका छन् ।
इलाकालाई आधार मानेर भौगोलिक बनावटलाई पनि ध्यान दिँदै यसअघि नगरपालिकामा क्रियाशील सबै राजनीतिक दलको सहमतिमा शङ्खरापुर नगरपालिका नै हुनुपर्ने जिल्ला प्राविधिक सहयोग समितिमा सिफारिस गरिएकोमा आयोगले गाभेर प्रतिवेदन बुझाएपछि विरोध गर्नुपरेको स्थानीयवासीको भनाइ छ ।
शङ्खरापुर नगरपालिकामा सिन्धुपाल्चोकको सीमासँग जोडिएका पटाप र नाङ्लेभारेजस्ता स्थान रहेको भन्दै यस्तो विकट भौगोलिक बनावट भएका ठाउँमा जनसंख्यालाई मात्र आधार मानेर नगरपालिका बनाउन नहुने संघर्ष सुमितिका संयोजक एवम् सांसद कुइँकेलले बताउनुभयो ।
नेकपा (एमाले) का २ नं क्षेत्रीय अध्यक्ष सुवर्ण श्रेष्ठ आयोगले भौगोलिक बनावटलाई वास्ता नगरी पौराणिक सहरलाई नामेट गर्न खोजेको आरोप लगाउनु भएको छ ।
यता मकवानपुर र ललितपुरसँग सीमा जोडिएको उपत्यकाको दक्षीणी भेगस्थित दक्षिणकालीका स्थानीयवासी पनि आयोगले दक्षीणकालीलाई कीर्तिपुर नगरपालिकामा मिसाएको भन्दै असन्तुष्ट बनेको सांसद राजेन्द्र केसीले बताउनुभयो ।
जिल्ला प्राविधिक सहयोग समिति काठमाडौँले आयोगमा आठदेखि ११ वटासम्म नगरपालिका सिफारिस गरेको थियो । विसं २०६८ को जनगणनाअनुसार शङ्खरापुर नगरपालिकामा २५ हजार र दक्षिणकाली नगरपालिकामा २७ हजार जनसङ्ख्या रहेको छ ।