काठमाडौं ३ माघ ।
राजधानीमा जारी रुस्लान कप क्रिकेटको उपाधिका लागि दुई विभागीय टीम नेपाल पुलिस र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ ।
आज भएको सेमिफाइनल खेलमा न्यू होराइजनलाई पराजित गर्दै पुलिसले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो भने एसपीएमाथि जीत हात पार्दै आर्मीले पुलिससँगको उपाधि भेट पक्का गरेको हो ।
किर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा आज पहिलो पहिलो सेमिफाइनल खेलमा पुलिसले न्यु होराइजनलाई ७ विकेटले पराजित र्गयो । होराइजनले प्रस्तुत गरेको ८३ रनको लक्ष्य पुलिसले १७ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
उसका लागि सुनिल धमलाले ३६ रन बनाए भने योगेन्द्र कार्कीले अविजित २० र आरिफ शेख १७ रनमा अविजित रहे । दिलिपनाथ १० रनमा आउट भए भने प्रेम तामाङले खाता नै खोल्न सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको न्यू होराइजनले २० ओभरमा सबै विकेट गुमाएर ८२ रन बनाएको थियो । उसका लागि कृष्ण कार्कीले २५ रन बनाए भने शंकर रानाले १६ रन जोडे, १५ रन अतिरिक्त जोडेको उसका सात खेलाडीले दोहोरो अंक जोड्न सकेनन् भने दुई खेलाडी शुन्यमै आउट भए ।
आजै भएको दोस्रो सेमिफाइनल खेलमा आर्मीले एसपीएमाथि ७० रनको फराकिलो जित हात पारेको छ । पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ६ विकेट गुमाएर एक सय ८७ रन बनायो ।
उसका लागि सागर पुनले ७५ रन बनाए भने राजेश पुलामीले ५५ रनको योगदान दिए । राजेशले २० बलमै अर्धशतक बनाएका थिए । अनिलकुमार मण्डलले ३० र राजु रिजालले १२ रन जोड्दा विनोद भण्डारी मात्र ५ रनमा आउट भए ।
जवाफमा मैदान उत्रिएको एसपीएले २० ओभरमा ७ विकेट गुमाएर एक सय १७ रन मात्र जोड्न सक्यो । उसका विजय रानाले २८ र रोमन बमले २५ रन बनाए । उसलाई सस्तैमा समेट्ने क्रममा अभिनाष कर्णले ३ र जितेन्द्र मुखिया र सागर पुनले २–२ विकेट लिएका छन् ।