काठमाडौँ, ३ माघ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले तीन दिनभित्रमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने बताउनुभएको छ ।
एमाले निकट अनेरास्ववियुको आज ज्ञापनपत्र बुझ्दै त्रिपाठीले तीन दिनभित्र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताउनु भएको हो ।
उहाँले निर्वाचनको वातावरण बनिरहेको उल्लेख गर्दै कुनै पनि हालतमा यसपटक स्ववियु निर्वाचन हुनेमा शङ्का नगर्नसमेत आग्रह गर्नुभयो ।
अनेरास्ववियुका अध्यक्ष नविना लामाको नेतृत्वमा गएको टोलीले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक माग गर्दै त्रिविका शिक्षाध्यक्ष तथा विश्वविद्यालय केन्द्रीय स्ववियु निर्वाचन कमिटीका प्रमुखसमेत रहनुभएका त्रिपाठीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।
ज्ञापनपत्रमा निर्वाचनको नजिक आइरहेकाले क्याम्पस प्रमुखलाई देशभित्र र बाहिर कुनै पनि कार्यक्रम र गतिविधिमा रोक लगाउनुपर्ने, विद्युतीय मतदान प्रयोग गर्न माग गरिएको छ । त्रिविले फागुन १४ गते देशभरिका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन तयारी गरेको छ ।
त्रिविले पहिलोपटक मिश्रित निर्वाचन प्रणाली र निर्वाचनका उम्मेदवारलाई २८ वर्षे उमेर हदबन्दी तोकेको छ ।
विसं २०६५ यता प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनबीच विवाद हुँदा अहिलेसम्म हुन सकेको छैन ।