काठमाडौ २ माघ ।
धनगढीमा जारी रुस्लान कप क्रिकेटमा सुदूरपश्चिम एकेडेमी र बुटवलको न्यु होराइजन क्रिकेट क्लब विजयी हुदै सेमिफाइनल प्रवेश गरेको छ । आज दिउँसो भएको खेलमा न्यु होराइजनले नेपाली राइनोजलाई ८ रनले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको न्यु होराइजनले ५ बल बाँकी छँदा सबै विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । होराइजनका लागि निर्मल थापाले ३० तथा विक्रम भुसालले २७ रन बनाए ।
१ सय ५ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको नेपाली राइनोज ९ विकेट गुमाउदै ९६ रनमा समेटियो । राइनोजका लागि सोनु तामाङले २७ रन बनाउनु बाहेक अन्य ८ जना खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यस्तै, आजै भएको अर्को खेलमा सुदूरपश्चिमले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर केसिटिसीलाई ४६ रनले पराजित गरेको छ । खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६० रन जोडे ।
सुदूरपश्चिमका लागि राजवीर सिंहले सर्वा्धिक ६२ रनको योगदान गरे । जवाफमा १ सय ६१ रनको लक्ष्य पछ्याएको केसीटिसीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो ।
प्रतियोगिताको सेमिफाइनल खेल भोलीबाट सुरु हुनेछ । भोली हुने पहिलो सेमिफाइनलमा विभागिय टोली नेपाल पुलिस र न्यु होराइजनबीच प्रतिस्पर्धा हुनेछ । यस्तै भोली नै हुने दोस्रो खेलमा नेपाल आर्मी र सुदूरपश्चिम भिड्नेछन् ।