हिजो ,
उ बिहान पनि जान्छ ,
उ दिउँसो पनि जान्छ ,
उ बेलुका पनि जान्छ ,
घडी र समयलाई बेवास्ता गरेर
स्वास्थ र इज्जतलाई बिर्सिएर ,
उ छिर्छ , उसको प्रिय अड्डा,
उसको मनपर्ने भट्टी ,
उसको देशको झझल्को ल्याउने भट्टी ।
आज
उ आज पनि गएको छ ,
त्यही भट्टी ,
तर , उसको निजि मन्दिर
अनेक देवी – देवता छन् याँहा ,
क्वाटर , हाफ र फुल, सबै साइजका
राष्ट्रिय र अन्तर्राष्ट्रिय ,
हरेक चुस्की संगै , उ तथास्तुको वरदान पाउँदैछ ,
उ हेर्दै मक्ख छ ,
उसको धर्म निरपेक्ष भट्टी ।
भोलि
उ फेरि छिरेको छ ,
उसको प्रिय ठाउँ ,
उसको मन बिसाउने ठाउँ ,
थकान रित्याउने ठाउँ ,
घुट -घुट , उ पिउँदै जान्छ ,
नशामा आफुलाई हराउँदै लान्छ ,
उ सोच्छ,
के हरेक दिन नयाँ आगन्तुक आउने ,
उसको देश पनि कतै भट्टी त होइन ?
उ सोच्छ ,
रक्सीको इशारामा चल्ने मानिस जस्तै ,
उसका नेताहरू कतै बाहिरी इशारामा त नाचिरहेका त छैनन् ?
उ सोच्छ ,
बाहिर भन्दा महँगो , उसको सितन ,
के यो कालोबजारीको पराकाष्ठा होइन ?
उ सोच्छ, सोच्छ,
एवम् रितले सोचिरहन्छ ।
अन्तत
उसले जनयुद्ध देखेको छ ,
६२-६३ को जन-आन्दोलन देखेको छ ,
गणतन्त्र देखेको छ ,
पहिलो संविधानसभा र त्यसको विघटन देखेको छ ,
भित्ते राष्ट्रपति देखेको छ ,
हिन्दीमा सपथ खाएको देखेको छ ,
ज्यानमाराको जयजयकार सुनेको छ ,
नेपाली भुमिमा विदेशी हस्तक्षेप देखेको छ ,
१ बर्षमा ६ महिना बन्द भोगेको छ ,
नाकाबन्दी चाखेको छ ,
फेरिएका प्रधानमन्त्रीलाई चिनेको छ ,
अरुले नदेखेका , नसुनेका , नजानेका ,
सबै कुरा बुझेको छ ।
वास्तविक नामलाई समाजले तिलान्जली दिएको ब्यक्ति उ ,
आज भट्टी र देशबीच समानता खोज्दैछ ,
उसको भट्टी र देश ,
जहाँ साम , दाम , दण्ड , भेद , सबै चल्छ
उसको भट्टी र देश ,
शब्दमा फरक तर अर्थमा एक ।
त्यसैले, बिरक्तिएर उ फेरि छिरेको छ भट्टी ,
त्यही कोलाहलयुक्त भट्टी ,
समाजको लागि उ को हो ?
राष्ट्रको लागि उ को हो ?
सायद , कार्यन्वयन हुन बाँकी संविधानलाई थाहा होला ,
उसलाई सलाम छ मेरो तर्फबाट,
भट्टी जस्तै देशलाई मदिरा मार्फत कर तिर्ने ,
उ एक इमान्दार नागरिक हो।।।