काठमाडौ २९ पौष ।
कृषि विकास मन्त्रालय मातहतको बाली विकास निर्देशनालयले झापाको बिर्तामोडस्थित कृषि उपज थोक बजारमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ । प्रयोगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ ।
बिर्तामोडसहित मध्यमाञ्चलमा सिराहाको लालवन्दी, पश्चिमाञ्चलमा रुपेन्देहीको बुटवल, मध्यपश्चिमाञ्चलमा पोखरा र सुदूरपश्चिमाञ्चलको धनगढीमा पनि विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी रहेको बाली विकास निर्देशनालयका डिल्लीराज शर्माले जानकारी दिनुभयो ।
प्रत्येक ठाउँमा रु २० लाखको लागतमा हाल प्रयोगशाला निर्माणको निर्माण कार्य भइरहेको छ । प्रयोगशाला निर्माणपछि विषादीको परीक्षण गरेर मात्र फलफूल तथा तरकारी बजारमा पठाइने शर्माले बताउनु भयो ।
तीन वर्षअघि राजधानीको कालीमाटी तरकारी बजारमा तीन वर्षअघिबाट सन्चालमा आएको विषादीको मात्रा परिक्षण प्रयोगशाला मुलुकको सात वटै प्रदेशमा स्थापना गर्ने निर्देशनालयको तयारी छ ।
कालीमाटीमा प्रयोगशाला स्थापना भएपछि उच्च विषादी प्रयोग भएका तरकारी उपत्यका बाहिर बिक्री वितरण हुन थालेपछि सरकारले सातवटै प्रदेशमा तरकारीको विषादी परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्न लागिएको हो ।