काठमान्डौ पुस २९।
स्थानीय तह पुनर्संरचना प्राविधक सहयोग समितिले गाउँपालिकाको केन्द्र सिफारिस गर्दा पायक पर्ने ठाउँमा नगरेको भन्दै ओखलढुंगामा स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।
चिसंखुगढी गाउँपालिकाको केन्द्र खानीभञ्ज्याङ्ग हुनु पर्ने भन्दै दियाले, पोखरे, भदौरे, कुइभीर लगायत गाविसका स्थानीय बासीन्दाले आन्दोलन थालेका हुन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय र स्थानीय तह पुनर्संरचना प्राविधक सहयोग समितिलाई ज्ञापनपत्र बुझाएर सेर्ना गाविसमा केन्द्र तोकिएको भन्दै सच्याउन माग गरेको आन्दोलन संयोजन समितिका संयोजक एकनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरी चौकी, स्वास्थ्य चौकी, उच्च मावि लगायतका सरकारी संयन्त्र रहेको र सबैको केन्द्र रहेको खानीभञ्ज्याङ्गलाई केन्द्र बनाउनु पर्नेमा पहुँचका आधारमा अन्यत्र सिफारिस भएको स्थानीयबासिन्दाको आरोप छ ।
धर्ना, ज्ञापनपत्र लगायतका कदमले माग सुनुवाई नभए तालाबन्दी र चक्का जाम गर्ने तयारी भएको स्थानीयबासीले जनाएका छन् ।