भक्तपुर, २८ पुस । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा आजदेखि एक महिने माधवनारायण मेला एवम् व्रत सुरु भएको छ ।
माधवनारायण मेला हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने गर्दछ ।
नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा माघ महिनाभर व्रत बसेर प्रसिद्ध माधवनारायण मेला भरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको पुजारी चिरञ्जनराज राजोपाध्यायले जानकारी दिनुभयो ।
नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरेका शिलालेखमा उल्लेख गरिएको बताउँदै उहाँले त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले भक्तजन व्रत बस्ने र स्नान गर्ने आउने गरेको उहाँले बताउनुभयो ।