भक्तपुर, २८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर जबराले मधेशी मोर्चाको सहमती बिना कुनै निर्वाचन सम्भव नभएको बताउनु भएको छ ।
भक्तपुरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले संबिधान संशोधन गरि मधेसका जायजमाग सम्बोधन गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताउनु भयो ।
संबिधान संशोधनमा अंगिकृत नागरिकलाई आफ्नो देशको नागरिकता त्याग्नासाथ नेपाली नागरिकता उपलब्ध गराउने प्रावधान राखिएको भन्दै अध्यक्ष जबराले त्यो गलत भएको बताउनु भयो ।
बिदेशीहरुलाई सजह तरिकाले राष्ट्रियतालाई नै असर गर्नेगरी नागरिकता बितरण गर्न नहुने उहाँको भनाई छ ।
यस्तै अर्को प्रसंगमा उहाँले सिमांकनको बिषय नसकिएसम्म अरु प्रक्रिया अघि नबढ्ने भएकाले स्थानिय निकायको निर्वाचन अघि नै प्रान्त र संसदको निर्वाचनका लागि प्रादेशिक कानुनको सीमांकन कसरी निर्धारण गर्ने भन्ने बिषयलाई टुङग्याउनु पर्ने बताउनु भयो ।