काठमाडौ २६ पौष ।
छुट्टै गाउँपालिका बनाउनुपर्ने माग गर्दै करिब चार महिनादेखि आन्दोलनरत बझाङको काँडा गाविसका स्थानीयले आज सिमा प्रहरी चौकीमा आगजनीको प्रयास गरेका छन् ।
गाउँपालिका नबनेपछि गाविसको परिषद समेत बहिस्कार गर्दै तीन दिनदेखि सीमा प्रहरी चौकी घेराउ गरेका स्थानीयले आज चौकीमा आगजनीको प्रयास गरेका हुन् ।
आक्रोशित स्थानीयले प्रहरीलाई चौकी छाड्न दवाव दिदै नाराजुलुस सहित चौकीमा आगजनीको प्रयास गरेको जनाइएको छ । सो क्रममा चौकीको भान्साको टहरा जलेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार आक्रोशित व्यक्तिहरुले हानेको ढुङ्गा लागेर चौकीको साइनबोर्डमा क्षति पुगेको छ ।
घटनापछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी निरीक्षक रामबहादुर चन्दको नेतृत्वमा २१ जना प्रहरी त्यसतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी नरेन्द्र चन्दले बताउनुभयो ।
यद्यपी सदरमुकाम चैनपुरबाट हिँडेको प्रहरी टोलीलाई गाविसमा प्रवेश गर्न नदिने तयारीमा काँडाबासीहरु रहेको जनाइएको छ । काँडा गाउँपाललिका संर्घष समितिका संयोजक मानबहादुर बोहराले जिल्लाबाट आएका प्रहरीलाई कुनै पनि हालतमा काँडामा प्रबेश गर्न नदिने बताउनु भयो ।
जबरजस्ती गर्न खोजे त्यसबाट हुने क्षतिको जिम्मेवारी प्रहरी आफैले लिनु पर्ने उनीहरुले चेतावनी दिएका छन् । यस अघि पनि गाउँपालिकाको माग गर्दै काँडा गाविसका पाँच सय १५ जनाले नागरिकता फिर्ता गर्नुका साथै जिल्ला विकास समितिको काममा अवरोध गरेका थिए ।