काठमाडौ २६ पौष ।
लेखापढी व्यवसायीको विरोधका कारण दुई दिनदेखि ठप्प मालपोत कार्यालय भक्तपुरको काम कारबाही आजदेखि सुचारु हुने भएको छ ।
शनिबारको एक राष्ट्रिय दैनिक पत्रिकामा मालपोत कार्यालय प्रमुख कमलप्रसाद तिमल्सिनाको भनाइ भनी प्रकाशित समाचारले लेखापढी व्यवसायीको मानहानी भएको भन्दै उनीहरुले गत आइतबारदेखि मालपोतको सेवा ठप्प बनाएको थियो ।
व्यवसायी र मालपोत अधिकृतबीच भएको वार्तामा तीनबुँदे सहमति भएपछि व्यवसायीले परोधका कार्यक्रम फिर्ता काममा फर्किने निर्णय भएको लेखापढी व्यवसायी संघ भक्तपुरका अध्यक्ष राजकुमार दाहालले जानकारी दिनुभयो ।
वार्तामा प्रमुख तिमल्सिनाले गल्ती भएको स्वीकार गरेको दाहालले बताउनुभयो । यस्तै मालपोत कार्यालयबाट प्रदान गरिने सेवा सुविधालाई चुस्त र प्रभावकारी बनाई जनगुनासो समाधान कार्यदल गठन गर्ने सहमति समेत भएको छ ।
मालपोत अधिकृत कृष्णप्रसाद जोशीको संयोजक रहेको कार्यदलले १५ दिनभित्र सुझाव दिनेगरी कार्य अघि बढाउने जिम्मेवारी पाएको छ ।
कार्यदलमा सदस्य सचिव लेखापढी व्यवसायी सङ्घ भक्तपुरका अध्यक्ष राजकुमार दाहाल, सचिव रामकाजी पाटी, नेपाल बार एशोसियसन भक्तपुरका पूर्वउपाध्यक्ष रवीन्द्र प्रधान र मालपोत अधिकृत अरुणोदयमान रञ्जीत सदस्य रहेका छन् ।