एजेन्सी,पुस २५।
स्पेनिस ला लिगामा गएराति भएको खेलमा बार्सिलोना र भिल्लारियलले अंक बाडेका छन् । बार्सिलोनाले भिल्लारियलसँग १ –१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेको थिएन । खेलको ४९ औं मिनेटमा निकोला सानसोनेले गोल गर्दै भिल्लारियललाई सुरुवाति अग्रता दिलाएका थिए ।
हारको नजिक पुगेको बार्सिलोनाका लागि लियोनल मेस्सीले ९० औं मिनेटमा बराबरी गोल फर्काउदै हारबाट जोगाएका हुन् ।
हारबाट जोगिएको बार्सिलोना सेभिल्लालाई पछि पार्दै दोस्रो स्थानमा भने उक्लिन सकेन । तेस्रो स्थानको बार्सिलोनाको १७ खेलबाट ३५ तथा दोस्रो स्थानको सेभिल्लाको ३६ अंक छ ।
एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ४० अंक छ । यस्तै गएराति नै भएको अर्काे खेलमा सेल्टा डि भिगोले मालागालाई ३–१ तथा रियल बेटिसले लेगानेसलाई २–० ले पराजित गरेको छ ।
एथ्लेटिको बिल्बाओ र एलाभेसले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।