काठमाडौ २४ पौष ।
नेकपा एमालेका प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराईले मुलुकको समस्या समाधानका लागि प्रमुख दलहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताउनु भएको छ ।
एमाले मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले मुख्य तीन दल एक ठाउँमा आएपछि मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।
भट्टाराईले संशोधन बाहेकका विधेयकलाई अघि बढाउन एमाले तयार रहेको धारणा राख्नुभयो । एमाले माथि अहिले चौतर्फी हमला भइरहेको दावी गर्दै उहाँले पार्टीको सङ्गठनलाई आन्तरिक रुपमा सुदृढीकरण गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सभा गठन नभएसम्म सीमाङ्कनको हेरफेर हुन नसक्ने भन्दै उहाँले संविधान संशोधनको समग्र विधेयक फिर्ता नभएसम्म संसद सञ्चालन हुन नसक्ने प्रष्ट पार्नुभयो ।
उहाँले मुलुकमा बोलिने मातृभाषा राष्ट्रिय भाषा हुने पक्षमा एमाले रहेको तर कुनैपनि नेपालीको मातृभाषा ‘हिन्दी’ नरहेकाले सो भाषालाई राष्ट्रिय भाषामा सूचीकृत गर्ने पक्षमा एमाले नरहेको स्पष्ट पार्नुभयो ।