काठमान्डौ पुस २४।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनः सरकारलाई दोस्रो चरणको स्पष्टिकरण बुझाउनु भएको छ । ज्ञवालीले आज विहान ११ बजे प्रधानमन्त्रीको कार्यालयमा पुगेर स्पष्टिकरण बुझाएका हुन् ।
विभिन्न निकायहरुबीच समन्वयन, पुनर्वास र भूकम्प पीडित परिवारलाई अनुदान वितरणमा प्रगति हुन नसकेको सम्वन्धमा सरकारले गत शुक्रबार उहाँलाई दोस्रो चरणको स्पष्टिकरण सोधेको थियो ।
कार्यकारी अधिकृत ज्ञवालीले ६ पेज लामो स्पष्टिकरण पेश गर्नु भएको छ । स्पष्टिकरणमा समन्वयनमा भएका कामहरु, अनुदान वितरणमा अहिलेसम्म भएको प्रगति र पुनर्वासका लागि प्राधिकरणले गरेका कामहरु समेटिएको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिनु भयो ।
साथै उहाले सरकारका सचिव दिनेशकुमार थपलिया मार्फत तीनवटा विषयमा थप प्रष्ट पार्ने गरी स्पष्टिकरण पेश गरेको उल्लेख गर्नु भयो । ज्ञवालीले यसअघि १२ पन्ने स्पष्टिकरण सरकारलाई बुझाउनु भएको थियो ।