काठमाडौँ,२३ पौष । काठमाडौँस्थित नागार्जुन नगरपालिकालाई वातावरणमैत्री बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
स्थानीय ग्रामीण समाज सुधार केन्द्रले सीतापाइलामा शनिबार आयोजना गरेको स्वास्थ्य तथा वातावरणमैत्री प्रारुपसम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीले वातावरणमैत्री नगर निर्माणमा सामूहिक प्रयासको आवश्यकता औँल्याएका हुन् ।
समारोहमा प्रमुख अतिथिको आसनबाट बौल्दै नागार्जुन नगरपालिका वडा नं. ४,५,६ का वडा सचिव पुरुषोत्तम विष्टले वातावरणमैत्री स्थानीय शासन प्रारुप बमोजिम नगरभरी हरियाली बढाई वातावरणमैत्री नगरको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
वडा सचिव विष्टले वातावरण संरक्षणका क्षेत्रमा कार्यरत संघसंस्थाबीच सहकार्य भएमा नगरपालिकालाई वातावरणमैत्री घोषणा गर्न सहज हुने धारणा राखे ।
आयोजक संस्था ग्रामीण समाज सुधार केन्दका अध्यक्ष सुवास केसीले प्रकृति संरक्षण र जनस्वास्थ्य सुधारका निम्ति सञ्चालित अभियानमा सघाउन सबैलाई अनुरोध गरे ।
स्थानीय ५५ जनाको सहभागिता रहेको कार्यक्रममा समाज सुधार केन्दका अध्यक्ष केसी ,प्रकृति स्रोत केन्द्रका अध्यक्ष श्रीकृष्ण बस्नेत र प्रवीणमान श्रेष्ठले सहभागीलाई वातावरण संरक्षण र स्वास्थ्यसम्बन्धी विविध विषयमा प्रशिक्षण दिएका थिए ।
अध्यक्ष केसीको सभापतित्वमा सम्पन्न उद्घमटन समारोहमा जनउद्धार मावि,हरिसिद्धिका सहायक प्रधानाध्यापक राजु केसीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सुधार केन्द्रका सचिव शिवराम रावतले गरेका थिए ।