वीरगञ्ज, पुस २३ ।
साढे पाँच किलोभन्दा बढी चाँदीका गहनासहित पक्राउ परेका प्रदीप साह सोनारलाई प्रहरीले आज वीरगन्जमा सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरी पाँच किलो ६१५ ग्राम चाँदीका गहनासहित पक्राउ परेका वीरगन्ज उपमहानगपालिका–३ छपकैयाका सोनारलाई सार्वजनिक गरेको हो ।
भारतबाट अवैधरुपमा नेपाल भित्र्याउन लागेको अवस्थामा प्रहरीले उक्त परिमाणको चाँदीका गहनासहित सोनारलाई वीरगन्जस्थित रजतजयन्ती चोकबाट शुक्रबार राति पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले बताउनुभयो ।
प्राप्त सूचनाका आधारमा सोनार सवार रहेका ना ३३ प ३३ ६२ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा त्यसको सिटमुनि लुकाइ राखिएको अवस्थामा चाँदीको एक सय ५३ थान सिन्दुर राख्ने डब्बा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक साहले बताउनुभयो ।
प्रहरी उपरीक्षक साहले बरामद गरिएको चाँदीका गहना, मोटरसाइकल र पक्राउ परेका सोनारलाई आवश्यक कानुनी कारबाहीका लागि आजै बाराको पथलैयास्थिति राजस्व अनुसन्धान कार्यालयमा बुझाउने तयारी भइरहेको जानकारी दिनुभयो ।