काठमाडौ २३ पौष ।
व्यवस्थापिका संसद अन्तरगत सार्वजनिक लेखा समितिको सभापति आगामी पौष २७ गते चयन हुने भएको छ । सभापति विहीन भएको पाँच महिनापछि समितिमा सभापति चयन प्रक्रिया अघि बढेको हो ।
संसद् सचिवालयले पौष २७ गते सभापति चयन गर्नेगरी चुनावी कार्यतालिका प्रकाशन गरेको छ । प्रकाशित कार्यतालिका अनुसार पौष २५ र २६ गते प्रस्तावक र समर्थक सहित मनोनयन दर्ता गर्नुपर्नेछ ।
उम्मेदवारको अन्तिम नामवली पुस २६ गते प्रकाशन गरिने छ । एकभन्दा बढी उम्मेदवार नपरेको अवस्थामा एकल दावेदार स्वतः सभापतिमा चयन हुनेछ भन एकभन्दा बढी उम्मेदवारी परे पुस २७ गते निर्वाचनबाट सभापति चयन हुने जनाइएको छ ।
त्यसका लागि पौष २७ गते बिहान ११ बजे समिति बैठक बोलाइएको छ । यस्तै महाभियोग सिफारिस समितिको सभापति पुस २५ गते चयन गर्नेगरी संसद् सचिवालयले तयारी गरेको छ ।
सभामुख ओनसरी घर्तीले मङ्गलबार सभापति चयन कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिनुभएको थियो । तत्कालीन सभापति जनार्दन शर्मा मन्त्री हुनु भएपछि लेखा समिति सभापतिविहीन छ ।