काठमाडौ २२ पौष ।
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा रहेको एमाले सहितका प्रतिपक्षी दलले आज राजधानीमा बृहत विरोध प्रदर्शन गर्दैछन् ।
असन्तुष्ट पक्षको माग सम्बोधनका लागि भन्दै सरकारले संसद सचिवालयमा दर्ता गराएको संशोधन विधेयक फिर्ता लिनुपर्ने माग राख्दै एमाले सहित विपक्षी ९ दलको संयुक्त आयोजनामा विरोध प्रदर्शन हुन लागेको हो ।
संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै फिर्ता लिन माग गर्दै आएका विपक्षी दलहरुको संयुक्त आयोजनामा भृकुटी मण्डवमा सभा गर्ने तयारी छ । तयसअघि बृहत जनप्रदर्शनको तयारी भएको एमाले सचिव योगेश भट्टाराईले जानकारी दिनुभयो ।
दिउसो एक बजे रत्नपार्कबाट सुरु हुने जनप्रदर्शन अघि उपत्यकाका विभिन्न ४० वटा स्थानबाट निकालिएको जुलुस रत्नपार्क पुगेर एकिकृत जुलुसमा परिणत हुने जनाइएको छ ।
एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्युरोड, भोटाहिटी, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा सभामा परिणत हुनेछ । सभालाई विभिन्न नौ राजनीतिक दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रदर्शनलाई व्यवस्थित बनाउनका लागि पाँच सय स्वयंसेवक परिचालन हुने जनाएको छ । यसअघि हिजो प्रदर्शनको तयारी स्वरुप मोटरसाइकल र्याली निकालेको थियो ।