दमक, २१ पुस । अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा आज रु २८ लाखसहित सम्मान गरिएको छ ।
अल्ट्रा म्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नै नेपाललाई चिनाउन सफल हुनुभएको भन्दै बेलायतमा रहेका आधा दर्जन सङ्घसंस्थाले संयुक्तरुपमा उहाँलाई रु २८ लाख नगदसहितको सम्मान गरेको हो ।
आज स्थानीय दमक रेडक्रस भवनमा एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, सांसद महेन्द्रकुमारी सुब्बाले संयुक्तरुपमा मीरालाई उक्त सम्मान रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।
बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङको पहलमा त्यहाँ रहेका किराँत राई यायोख्खा, जेन मार्सल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाइजेसनको सहयोगमा उक्त रकम जुटाइएको थियो ।
त्यसैगरी, सोही कार्यक्रममा मीरालाई अल्ट्रा म्याराथन खेलमा लाग्नका लागि प्रोत्साहन दिने कराते खेलका प्रशिक्षक धु्र्रवविक्रम मल्ललाई समेत रु दुई लाख तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो ।