काठमाडौं, पुस २१।
सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेसी मोर्चा्बिच संविधान संशोधन प्रस्ताव आगामी आइतबार बस्ने संसद बैठकमा अघि बढाउने समझदारी भएको छ ।
आज बसेको माओवादी, कांग्रेस र मधेसी दलको संयुक्त बैठकले आगामी संसद बैठकमा संशोधन प्रस्ताव पेश गर्ने सहमति गरेको हो ।
सर्वोच्च अदालतको आदेशपछि प्रमुख प्रतिपक्षी दलले संसद अवरोध गर्नुको कुनै तुक नभएको भन्दै उपप्रधानमन्त्री विमलेन्द्र निधिले अब संसदमा प्रकृया अघि बढ्ने बताउनु भयो ।
यस्तै, मधेसी मोर्चाका तर्फबाट वार्तामा सहभागी राजेन्द्र महतोले संसदमा संविधान संशोधन प्रस्ताव अघि बढाउन सहमति भएको भन्दै त्यसलाई पारित गर्ने विषयमा सरकार तदारुकताका साथ लाग्नु पर्नेमा जोड दिएको जानकारी दिनुभयो ।
यद्यपी सत्तारुढ दल र मधेसी मोर्चा्बिच संशोधन प्रस्ताव बढाउने सहमति भएपनि प्रतिपक्षी दल एमालेले भने जबरजस्ती प्रस्ताव अघि बढाउन खोजे अवरोध जारी राख्ने बताएको छ ।
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशपछि संशोधन प्रस्ताव फिर्ता लिन उपयुक्त वातावरण तयार भएको भन्दै आगामी आइतबारको संसद बैठक अघि नै प्रस्ताव फिर्ता लिएर सहमतिको वातावरण तयार पार्न आग्रह गर्नु भएको छ ।