काठमाडौं, पुस २१ ।
नेकपा एमाले उपाध्यक्ष बामदेव गौतमले एमाले लगायत ९ दलले आगामी पुस २२ गते राजधानीमा आयोजना गरेको जनप्रदर्शनलाई सभ्य र भव्य बनाउन आग्रह गर्नु भएको छ ।
अभद्र तथा उच्छृंखल गतिविधिमाथि निगरानी गर्दै जनप्रदर्शनलाई भव्य र शानदार ढंगले सम्पन्न गर्न उपाध्यक्ष गौतमले आग्रह गर्नु भएको हो ।
जनप्रदर्शनका लागि परिचालित स्वयंसेवकहरुलाई आज पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा उहाँले अनुशासित र चनाखो भएर काम गर्न निर्देशन दिनु भयो ।
यस्तै उपाध्यक्ष गौतमले देशलाई विखन्डन हुन नदिन र जातीय तथा साम्प्रदायिक सद्भाव बिथोल्नेलाई सफल हुन नदिन विपक्षी ९ दलले २२ गते राजधानीमा जनप्रदर्शनको तयारी गरेको उल्लेख गर्नु भयो ।
दिउसो १ बजे रत्नपार्कबाट सुरु हुने जनप्रदर्शन त्यसभन्दा अघि विभिन्न ४० स्थानबाट जुलुसहरू रत्नपार्क आउने एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनु भयो ।
एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्युरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा सभामा परिणत हुनेछ । सभालाई ९ राजनीतिक दलका प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।