झापा, पुस २१ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत् झापाको चारपाने सडकखन्डमा आज भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ४७ १५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे १ च ३११५ नम्बरको बोलेरो कार एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी महाभरा–७ निवासी २५ वर्षीय अरुण राजवंशी र सोही ठाउँ निवासी २९ वर्षीय लोखचन राजवंशीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिनु भयो ।
मोटरसाइकल चालक अरुणको घटनास्थलमा नै र पछाडि सवार लोखचनको उपचारका क्रममा बिर्तामोड स्थित बीएन्डसी हस्पिटलमा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।