काठमाडौँ, १९ पुस ।
संविधान सशोधन प्रस्तावको विरोधमा आगामि पुस २२ गते आयोजना गरिने आमसभालाई सफल बनाउन सशक्त र प्रभावकारी भूमिका खेल्न नेकपा (एमाले)ले सांसदलाई निर्देशन दिएको छ ।
संसद् भवन, बानेश्वरमा आज बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले राजधानीको खुलामञ्चमा आयोजना हुने उक्त आमसभामा धेरैभन्दा धेरै जनसहभागिता जुटाउने तयारीमा लाग्न सांसदलाई निर्देशन दिनुभयो ।
एमालेले पार्टी स्थायी समितिको आजको निर्णयबारे सांसदलाई जानकारी दिदै अध्यक्ष ओलीले संविधान संशोधनका विरुद्ध ५ नं प्रदेशमा हुँदै आएको आन्दोलनलाई अरु प्रदेशमा समेत विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
बैठकपछि संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रदेशको सीमाङ्कनका बारेमा एमालेले उठाएको विषयवस्तु, मुद्दा र विचारलाई सर्वाेच्च अदालतले पुष्टि गर्दै सही ठहर गरेको बताउनुभयो ।
सांसद गणेश पहाडीले अदालतबाट संविधान सशोधन विधेयकका सम्बन्धमा आएको निर्णयलाई पार्टीले स्वागत गरेको लगायत समसामयिक विषयमा अध्यक्ष ओलीबाट बैठकमा जानकारी प्रस्तुत भएको जानकारी दिनुभयो ।