काठमाडौँ, १९ पुस ।
नेपाल स्टक एक्सचेन्जमा खानीखोला हाइड्रोपावर कम्पनीको साधारण सेयर सूचीकृत भएको छ ।
ललितपुरमा टुङ्गठन ठोस्ने र खानी खोला गरी ६ मेगावाट क्षमताको दुई आयोजना निर्माण गरेको कम्पनीको कुल ४६ लाख ५७ हजार एक सय ४३ कित्ता सेयर आज सूचीकृत भएको स्टक एक्सचेन्जले जनाएको छ ।
कम्पनीले एक महिना पहिले साधारण सेयर सूचीकरणका लागि स्टकमा निवेदन दिएको थियो । प्रसारण लाइनको अभावमा ती आयोजनाबाट उत्पादित विद्युत् पूर्ण क्षमतामा राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या हुँदै आएको छ ।
नेपाल विद्युत् प्राधिकरणले त्यसका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।
यस्तै स्टकले आजै लुम्बिनी फाइनान्स कम्पनीको पनि सेयर मूल्य समायोजन गरेको छ ।
समायोजन भएपछि फाइनान्सको प्रतिकित्ता सेयर रु २८१ कायम गरेको छ । फाइनान्सले गत आवमा गरेको मुनाफाबाट सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर दिने घोषणा यसअघि नै गरिसकेको छ ।