काठमान्डौ पुस १८।
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले जवरजस्ती संसदमा संविधान संशोधन विधेयक पेश गर्न खोजिए त्यसको प्रतिकार गर्ने चेतावनी दिनु भएको छ ।
प्रेस चौतारी भक्तपुरले आज आयोजना गरेको पुस २२ गतेको प्रदर्शन सम्बन्धी अन्तरक्रियामा बोल्दै खनालले यस्तो बताउनु भएको हो ।
खनालले प्रदेश नम्बर ५ को सीमाना हेरफेर गरेर मधेस(पहाड अलग गर्ने एजेण्डा नेपालभित्रबाट नभई बाहृय निर्देशनमा भइरहेको दाबी समेत गर्नू भयो । साथै उहाँले विदेशीको एजेन्डा नेपालको संसदबाट पारित हुन नदिने ठोकुवा गर्नु भयो ।
खनालले आगामी पुस २२ गते एमाले सहित संविधान संसोधनको विपक्षमा रहेका दलहरुको प्रदर्शनले संविधान संशोधन बिरुद्ध जनमत प्रकट गर्ने बताउनु भयो । उक्त जनप्रदर्शन एमालेको मात्र नभई देशभक्तहरुको भएकाले सबै सहभागी हुन आह्वान समेत गर्नु भयो ।
नेता खनालले माओवादी आफ्नै कारण पतनको दिशामा गएको भन्दै यही प्रकारले अघि बढे अर्को चुनावसम्म बत्ती बालेर खोज्नुपर्ने टिप्पणी गर्नु भयो ।