पुष १८ काठमाण्डौं । भारतको सिलगुडीमा जारी चौथो महिला साफ् च्याम्पियनसिपमा नेपालले आज चीर प्रतिद्धन्दी भारत विरुद्ध पहिलो सेमिफाईनलमा प्रतिस्पर्धा गर्दैछ ।
यस अघिको तीन वटै फाईनलमा पराजीत भएको नेपालले यस पटक सेमिफाईनलमै भारतसगँ भेट्न लागेको हो । सोमबार सवा २ बजे कन्चनजंगा स्टेडियममा आमने सामने हुदा नेपाली टोली सावित्रा भण्डारीको आक्रामक खेललाई मुख्य हतियार बनाएर अघि बढ्ने छ ।
उनले दुई खेलमा ११ गोल गरेकी छन् । यस पटक भारत समुह चरणमा अन्तिम खेलमा बंगलादेशसगँ गोल रहित बराबरीमा थियो भने नेपाल कुनै पनि टोलीसगँ अपराजीत रहेको थियो । नेपालले भुटानलाई ८ गोल , माल्दिभ्स विरुद्ध ९ गोल गरेको थियो भने श्रीलकामाथि उसैको आत्मघाती गोलका कारण जीत हात पारेको थियो । नेपाल र भारत दुवै टिमले समुह चरणको अन्तिम खेलमा गोल गर्न सकेका थिएनन् ।
सेमिफाईनलमा भारतलाई हराउन सके नेपालको उपाधी हात पार्ने संभावना बलियो हुने छ । भारत बाहेक दक्षिण एशियाका कुनै पनि अन्य टोलीले नेपाललाई पराजीत गर्न सकेको छैन । पटक पटकको पराजयको पीडा भुल्दै उपाधी घर ल्याउन टोलीलाई उच्च मनोवलका साथ मैदानमा उतार्ने नेपाली टोलीका प्रशिक्षक कुमार थापाले बताएका छन् । आजै दोस्रो सेमिफाईनलमा माल्दिभ्स र बंगलादेशबीच खेल हुने छ ।