काठमाडौँ, १७ पुस ।
पश्चिमी वायु प्रणालीको प्रभावले उपत्यका सहित मुलुकभर मौसम बदली भई चिसो बढेको छ । कतिपय स्थानमा वर्षा हुन थालेपछि पूर्वी तथा मध्य पहाडि क्षेत्रमा हिमपात पनि सुरु भएको छ ।
ताप्लेजुङ, दोलखा, रामेछापलगायतका जिल्लाका पहाडि क्षेत्रमा हिमपात भएको हो । ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा गएरातिदेखि हिमपात सुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभागले मौसममा आएको परिवर्तनले आगामि सोमबारसम्म अधिकतम तापक्रम घट्ने र फाट्टफुट्ट पानी पर्ने जनाएको छ ।
विभागका मौसमविद् सुवास रिमालले मौसम बदलीका कारण आज र भोली चिसो बढ्ने बताउनु भयो । मङ्गलबारदेखि भने मौसममा केहि सुधार आउने उहाको भनाई छ ।
काठमाडौँको न्यूनतम तापक्रममा खासै असर नपरे पनि अधिकतम तापक्रम घटेर १९.५ सेन्टिग्रेड पुगेको विभागको अनुमान छ । पश्चिम क्षेत्रमा भने सोमबारदेखि नै मौसममा सुधार आउने सङ्केत देखिएको छ ।
हिउँदमा भूमध्यसागरबाट पश्चिमी न्यूनचापीय क्षेत्रको असरले जलवाष्प इरान, अफगानिस्तान, पाकिस्तान, पश्चिम भारत हँुदै नेपालमा आउने उहाको भनाई छ ।
जलवाष्पका कारण मुलुकको पश्चिम क्षेत्रमा शनिबार बिहानैदेखि र केन्द्र तथा पूर्वी क्षेत्रमा दिउँसोदेखि मौसम बदली भएको मौसमविद् रिमालले बताउनुभयो ।