काठमाडौं, पुस १७ ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र भूपेन्द्र न्यौपानेको संयोजकत्वमा रहेको कम्युनिष्ट न्यूक्लियस नेपाल पार्टी बीच आज एकता भएको छ ।
आज राजधानीमा एक कार्यक्रम गरी क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्य र न्युक्लियस नेपालका संयोजक न्यौपानेले संयुक्त रुपमा पार्टी एकता भएको घोषणा गर्नुभयो ।
कार्यक्रममा वैद्यले वैद्यले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन र राष्ट्रियता बचाउन कम्युनिट शक्तिको एकताको खाँचो औँल्याउँदै मुलुकमा वैज्ञानिक समाजवाद स्थापना गर्न जनवादी क्रान्ति सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले नेपालमा जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको स्थापनाका लागि पार्टी एकीकरण आवश्यक भएको बताउनु भयो । क्रान्तिकारी विचार भएका पार्टीहरुबीच एकता भएमा मात्र वैज्ञानिक समाजवाद ल्याउन सकिने बैद्यको भनाई छ ।
सोही पार्टीका प्रवक्ता हरिभक्त कँडेल र वामपन्थी नेता परि थापाले विभिन्न वामपन्थी पार्टीका शीर्ष नेतृत्वमा कम्युनिस्ट सिद्धान्तप्रति विचलन आएकाले पनि जनतामा कम्युनिस्ट आदर्श र विचारप्रति भ्रम सिर्जना हुँदै गएको भनी चिन्ता व्यक्त गर्नुभयो ।
कम्युनिस्ट न्युक्लियसका संयोजक न्यौपानेले मुलुकलाई विखण्डनबाट जोगाउनुपर्ने र जनताले परिवर्तनपछि राखेका आशालाई पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।