काठमाडौँ, १६ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वाधार निर्माण तथा विकासमा प्राविधिकको महत्वपुर्ण भूमिका रहेकोले मुलुकको विकासमा वैज्ञानिक पद्धती अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलन तथा एकता भेलाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विज्ञान प्रविधिको समूचित उपयोग गरी राज्यको विकास र समृद्धि कायम गर्न सक्ने बताउनुभयो ।
यस्तै उहाँले भूकम्पपछिको पुनःनिर्माणमा खटिएका इन्जिनियरको सुरक्षा र आवश्यकतालाई सरकारले विशेष ध्यान दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
देशको समृद्धि र राजनीतिक गतिरोधका सन्दर्भमा सही सन्देश दिन सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्दै उहाले विज्ञान प्रविधिको क्षेत्रमा सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भयो ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मुलुकको विकासका लागि सबै दलको साझा दृष्टिकोणको खाँचो रहेको औँल्याउँदै प्राविधिक जनशक्तिलाई स्वदेशमा नै उपयोग गर्नुपर्ने बताउनुभयो ।
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले मुलुकलाई स्वाधीन र आत्मनिर्भर बनाउन दक्ष प्राविधिक जनशक्तिको आवश्यकता रहेको बताउनु भयो ।
उहाले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि २४० इन्जिनियर र प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र विकास कार्यक्रममा कम्तीमा एक र बढीमा तीन जनासम्म इन्जिनियरलाई रोजगारीको सिर्जना गरिएको पनि बताउनुभयो ।
नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष हरिराम श्रेष्ठ, वरिष्ठ इन्जिनियर डा जीवराज पोखरेललगायतले इन्जिनियरको क्षमता अभिवृद्धि गर्न व्यावसायिक तालिमको जरुरी रहेकोमा जोड दिनुभएको थियो ।