काठमाडौं ,पुस १५ ।
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले प्रमुख राजनैतिक दलबीच देखिएको असमझदारीका कारण प्रतिगामी शक्तिले टाउको उठाउने मौका पाएको बताउनुभएको छ ।
पार्टीका तर्फबाट आज सार्वजनिक अपील जारी गर्दै संयोजक भट्टराईले संविधानप्रति असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर अघि बढनुपर्नेमा केहि दल झन् पछि फर्किन खोजेकोले मुलुकमा संकट पैदा भएके बताउनु भयो ।
लोकतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै उहाँले निरास भएर प्रतिगामी शक्तिलाइ सहयोग गर्दा न्याउरी मारी पछुतोको अवस्था आउन सक्नेतर्फ सचेत हुन आग्रह गदै उहाले हिजोका आफ्नै प्रतिवद्धताबाट पछि हट्ने दुस्साहस नगर्न पनि दलहरुलाई सचेत गराउनुभयो ।
सबैलाई सहमतिमा ल्याएर संविधान संशोधनमार्फत संविधानलाई पूर्णता दिनुपर्ने जोड दिदै भट्टराईले संविधानमा छुटेको विषयलाई समावेश गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।
केहि दल अझ पछि हट्न खोजेकोले प्रतिगामी र अलोकतान्त्रिक शक्तिले जनतामा भ्रम सृजना गर्न प्रयास गरिरहेको भन्दै उहाँले लोकतन्त्रलाई अझ बढी उन्नत बनाउन वैकल्पिक राजनीति निर्माण आवश्यक रहेको बताउनु भयो ।
पुराना र थोत्रा भईसकेका राजनीतिक शक्ति अब विकल्प हुन नसक्ने उहाको भनाई छ ।
भट्टराईले राजनितिक स्थिरता भएमा मात्र आर्थिक विकास हुने भन्दै त्यसका लागी प्रत्यक्ष निर्वा्चित कार्यकारी भएको शासन प्रणाली र पूर्ण समानुपातिक संसद हुनुपर्नेमा जोड दिनुभयो ।