काठमाडौ १५ पौष ।
गुरुङ समुदायले आज साँस्कतिक पर्व तमु ल्होसार हर्षउल्लासका साथ मनाउदैछन् । यस वर्ष बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।
नेपालका आदिवासी जनजाति समुदाय मध्ये एक गुरुङ समुदायले हरेक वर्ष पुस १५ लाई तमु ल्होसारका रुपमा मनाउने गर्दछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो ।
‘तमु संस्कृतिअनुसार चरालाई शान्तिको प्रतिक मानिने भएकाले पुस १५ गतेदेखि शान्तिमय समय सुरु भएको खुसीयालीमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाइन्छ ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको अध्यक्ष गुरुङले बताउनुभयो । पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
ल्होसार पर्वका अवसरमा गुरुङ समुदायले आज काठमाडौको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना समेत गरेको छ । कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने तयारी भएको आयोजक गुरुङ समाजले जनाएको छ ।