काठमाडौ १५ पौष ।
भारतको सिलिगुढीमा जारी चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज श्रीलंकाको सामना गर्दैछ ।
प्रतियोगिता अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले आज श्रीलंकासँग खेल्न लागेको हो । खेल भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा अपरान्न पौने तीन बजेपछि सुरु हुनेछ ।
यसअघिका दुई खेलमा शानदार जीत निकालेको नेपाली महिला टोली आजपनि विजय लक्ष्यका साथ मैदान उत्रिदैछ । आजको खेलबाट समूह ‘ए’ को विजेताको टुङ्गो लाग्नेछ ।
प्रतियोगिताको समूह विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । यसअघि खेलेको दुवै खेलमा जित हासिल गरेको नेपालले ६ अंकसहित समुह ए को शिर्ष स्थानमा छ ।
यसअघि भएको पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोल अन्तरले पराजित गरेको थियो भने माल्दिभ्सविरुद्धको दोस्रो खेलमा नेपालले ९–० को जित हासिल गरेको थियो ।
एक खेलमा हार र एकमा जीत बेहोरेको श्रीलङ्काको ३ अङ्क छ । नेपाल यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।