काठमाडौं, पुस १४।
सरकारले भुकम्प पछिको पुनर्निर्माणमा खटिएका प्राविधिक एंव इन्जिनियरलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।
सिंहदरबारमा आज विहान बसेको मन्त्रिपरिषदको बैठकले पुनर्निर्माणका लागि सदरमुकाम सम्म पुग्ने प्राविधिकलाई तलबको ५० प्रतिशत र गाउँ गाउँ पुग्नेलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।
यस्तै बैठकले पोखरा खानेपानी आयोजनाका लागि ४ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषदले एसियाली विकास बैंक एडिबीको दुई अर्ब १२ करोड रुपैयाँ सहयोग स्वीकार गरी शिक्षाक्षेत्रमा लगानी गर्ने निर्णय गरेको छ ।
गत वर्षको भूकम्पका कारण क्षतिग्रस्त भएको माथिल्लो त्रिशूली जल विद्युत आयोजनाको सरसफाइका लागि सरकारले ६१ करोड १८ लाख रुपैयाँ विनियोजन गर्ने भएको छ ।
यस्तै आजको बैठकले प्रमुख सेनानी रविन्द्र केसीलाई महासेनानीमा बढुवा गरेको छ । प्रेस काउन्सिल नेपालको सदस्यमा नवल किशोर यादव र संगीता खड्कालाई बैठकले नियुक्त गर्ने निर्णय गरेको छ ।