काठमाडौं, पुस १४ ।
व्यवस्थापिका–संसदको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ ।
सरकारले प्रदेश नम्बर ५ को सीमांकन हेरफेर सहित संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयकमा प्रमुख राजनीतिक दलहरुविच सहमति हुन नसक्दा झण्डै एक महिनादेखि संसदको कारवाही अघि बढ्न सकेको छैन ।
प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी दलहरुले संशोधन विधेयक राष्ट्रहित विपरीत रहेको भन्दै लगातार सदन अवरुद्ध गर्दै आएको छ । विधेयक फिर्ता नभएसम्म बैठक चल्न नदिने बिपक्षी दलको अडान कायमै रहेको छ ।
लगातार सदन अवरुद्ध हुदा दर्ता भएर पनि निर्वाचन सम्बन्धि विधेयक अघि बढ्न सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव समेत अलपत्र परेको छ ।
यस्तै एक महिना देखि उत्पन्न राजनीतिक गतिरोध अन्त्यको पहल स्वरुप सभामुख ओनसरी घर्ती मगरले प्रमुख राजनीतिक दलहरुसँग पटक पटक प्रयास गरे पनि दलहरुको आ–आफ्नै अडानका कारण सम्भव हुन भने सकेको छैन ।