काठमाडौ ,१३ पौष ।
प्रमुख तीन दलले अबको १० दिन भित्र स्थानीय तह निर्वाचनको मिति घोषणा गरेर जाने सहमती गरेका छन् ।
सिंहदरबारमा आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको बैठकले स्थानीय तहको निर्वाचनका लागि १० दिनभित्र मिति घोषणा गरेर अघि बढ्ने सहमति गरेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको अवरोध हटाएर संविधान संशोधनको विषय प्रक्रियाबाटै टुंगो लगाउन प्रमुख प्रतिपक्षलाई आग्रह गर्नुभएको थियो ।
उहाँले संविधान संशोधन, निर्वाचन, निर्वाचन सम्वन्धी विद्येयक, लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव एवम् स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन लगायतका विषयमा प्रमुख दलबीच समझदारी बनाएर अघि बढ्न आग्रह गर्नुभएको थियो ।
बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएका विषयहरुमाथि गम्भीर र सकारात्मक रुपमा छलफल अघि बढेकाले छिट्टै प्रमुख दलहरुको बैठक बसि सहमति जुटाउने निष्कर्ष निकालिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै बैठकमा एमालेले संविधान संशोधन बिधेयक फिर्ता गरेर निर्वाचनमा जान आग्रह गरेको थियो । तर त्यसबारे भने सहमति जुट्न सकेन । कांग्रेस र माओवादी केन्द्रले संसदबाटै टुंग्याउनुपर्ने बताएका छन् ।
यस्तै बैठकमा नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी कानुन संसदमा एकैसाथ पेस गर्ने प्रस्ताव गर्नुभएको थियो । निधिको प्रस्ताव एमालेले अस्वीकार गरेको थियो ।