काठमान्डौ ,पुस १२ ।
पूर्व सांसद बुद्ध सायमीको शोक प्रस्ताव पारित गर्दै व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ ।
नयाँबानेश्वर स्थित संसद भवनमा बसेको बैठक हिजो निधन भएका पूर्व सांसद सायमीको निधनमा शोक प्रस्ताव पारित गर्दै भोली अपरान्ह ३ बजेसम्मका लागी स्थगित भएको हो ।
बि.स. २०६४ सालको संबिधानसभा निर्वाचनमा नेपाः राष्ट्रिय पार्टीका समानुपाति सभासद रहनुभएको थियो । नेपाल भाषामा विद्रोही कविको रुपमा पनि परिचित सांसद सायमीको ७२ वर्षको उमेरमा आइतबार निधन भएको थियो ।
सरकारले मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरे सँगै प्रमुख प्रतिपक्षी दल एमाले लगायतका दलहरुले संशोधन राष्ट्रहित विपरीत रहेको भन्दै लगातार सदन अवरुद्ध गर्दै आएको छ ।
जसका कारण दर्ता भएर पनि निर्वाचन सम्बन्धि विधेयक अघि बढ्न सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव समेत अलपत्र परेको छ ।
यस्तै एक महिना देखि उत्पन्न राजनीतिक गतिरोध अन्त्यको पहल स्वरुप सभामुख ओनसरी घर्ती मगरले प्रमुख राजनीतिक दलहरुसँग पटक पटक प्रयास गरे पनि दलहरुको आ–आफ्नै अडानका कारण सम्भव हुन भने सकेको छैन ।