काठमाडौ १२ पौष ।
अष्ट्रेलियाको सिड्नीमा एक नेपालीको डुबेर मृत्यु भएको छ । क्रिसमस बिदाको समय पिकनिक मनाउन गएका बेला सिड्नीको कंगारु नदीमा डुबेर उनको सोमबार मृत्यु भएको हो ।
साथीभाई र परिवारसँग पिकनिकका लागि सिड्नीको दक्षिण पश्चिीमी इलाका कंगारु भ्यालीको कंगारु नदी क्षेत्रमा गएका २४ बषिर्य सुजन शर्माको नदीमा डुबेर मृत्यु भएको हो ।
सन् २०१३ मा अष्ट्रेलिया गएका सुजन सिड्नीको बेल्मर क्षेत्रमा बसोबास गर्दथे । उनका भिनाजु रविन सुबेदीले दिएको जानकारी अनुसार नदीमा डुबर उनको घटनास्थलमै मृत्यु भएको हो ।
हाल उनको शव सोल हेभन अस्पतालमा राखिएको छ ।लाइफ ज्याकेट निकालेर पौडी खेल्न गएका सुजन त्यहीँ डुबेका थिए । उद्दार टोलीले तीन घण्टापछि उनको शव नदीबाट निकालेका थिए ।
सोही स्थानमा गत बर्ष अर्का नेपाली पूर्ण बोहोराले पौडी खेल्ने क्रममै ज्यान गुमाएका थिए । यो बर्ष क्रिसमसकै क्रममा सिड्नीमा दुई जना नेपाली युवाले पौडी खेल्ने क्रममा ज्यान गुमाएका छन् ।
आइतबार मात्रै अर्का नेपाली युवा सुजन अधिकारीले वाटामोला बिचमा पौडी खेल्ने क्रममा ज्यान गुमाएका थिए । लगालग दुई युवाको असामयिक निधनले यतिबेला सिड्नीको नेपाली समुदाय शोकमा परेको छ ।