हिजो,
उ छोरी हो ।
बा-आमाकी प्यारी ,
घरकी लक्ष्मी ,
उ परिवारको खुशी हो ।
कहिले चन्चले , कहिले ज्ञानी
उ सान्नानी हो ।
आज ,
उ बुहारी हो ।
घरकी भान्से ,
सासुकि आज्ञापालक ,
आँगन सफाइको ठेकेदार ,
गाईवस्तुको अन्नदाता ,
दिनभर अस्तब्यस्त रहने
उ एक मेसिन हो ।
उ सान्नानी हो ।
भोलि ,
उ आमा हो ,
घरकी आमा ,
र बालकको कारखाना ,
केटाकेटी देखि बृद्ध , सबैको सेवामा हाजिर हुने ,
बोली र ब्यवहार दुवैले घरको सुरक्षा गर्ने ,
उ एक सिपाही हो ।
उ सान्नानी हो ।
अन्तत ,
उ बुढी हजुरआमा हो ।
नाति-नातिनाकी प्यारी ,
तर घरकी भारि ।
उ सम्झन्छे आफ्नो इतिहास ,
उ देख्छे आफ्नो वर्तमान ,
उ कल्पना गर्छे आफ्नो भविष्य ।
खुइया – लामो सास फेर्दै ,
सुकेको बाँसझै उदास र उजाड ,
उ हेर्छे आफ्नो घर ,
उसको भुत र वर्तमानले गरेको रहर ,
घन्य छौ , तिमी सान्नानीहरु ,
आफ्नो बालक , बैँस र बृद्ध
सबै उमेरले परिवारको खुशी ल्यायौ ,
आफ्ना अनुभवले , आफ्ना उपदेशले ,
आउँदा पीडिलाई ज्ञानी बनायौ ,
ढल्दै गरेकालाई बौद्धिक बनायौ ।
आफ्नो घरको ,
भौतिक र मानसिक भारी बोकेकी ,
आज बुढेशकालमा मा निर्वलिया हातले
लौरोलाई सहारा दिने ,
उ एक कर्तव्यनिष्ठ नारी हो ।
उ सान्नानी हो ।