पौष ११, काठमाडौं ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वहारा वर्गको अन्तिम विजय नभएसम्म निरन्तर क्रान्ति र संघर्षका कार्यक्रम जारी राख्नुपर्नेमा जोड दिनुभएको छ ।
माओ जयन्तीका अवसरमा माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले आजको युग पनि साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग भएको बताउनु भयो ।
निरन्तर क्रान्ति, निरन्तर संघर्ष माओवादको सन्देश भएको भन्दै उहाले सर्वहारा वर्गको अन्तिम विजय नभएसम्म त्यसलाई जारी राख्ने बताउनु भयो ।
संघीयतालाई साम्प्रादायिकतामा बदल्ने कोशिस भइरहेको चर्चा गर्दै प्रचण्डले भन्नुभयो, ‘एकथरी मान्छेहरु संघीयता उल्टाउन उद्दत छन् । कम्युनिष्टहरुले जनतामा लोकप्रियता हासिल गरेपछि बुर्जुवाहरु कम्युनिष्टका नारा अपहरण गरेर त्यसलाई भड्कावमा लैजाने षड्यन्त्र गर्दछन् ।
कम्युनिष्टहरुको नेतृत्वमा जातीय समस्याको उचित सम्बोधन हुने भन्दै प्रचण्डले सोहि एजेण्डा बुर्जुवाहरुको हातमा गएमा त्यसले साम्प्रादायिकता निम्त्याउँछ र बिखण्डनको बिउ रोप्ने बताउनु भयो ।
जनयुद्धकै बलमा गणतन्त्र, संघीयता, धर्म्निरपेक्षता, समावेशी–समावेशिताजस्ता महत्वपूर्ण उपलब्धि हासिल भएकाले त्यसलाई जोगाएर संविधानमा संस्थागत भएका उपलब्धिहरुको कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता हितमान शाक्यले २१ औं शताब्दीमा माओवादीको औचित्य अझै बढ्दै गएको बताउनु भयो ।