काठमाडौ १० पौष ।
शिक्षा नियमावली टुङ्गोमा पुर्याउन नसक्दा शिक्षा क्षेत्र अनउोलमा परेको छ । सार्वजनिक विद्यालयमा आमूल सुधारको अपेक्षासहित शिक्षा ऐन २०२८ मा संशोधन भएको ६ महिना बितिसक्दा पनि अझै पूर्णता पाउन सकेको छैन ।
विद्यालय तहको शिक्षा र खासगरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई मुख्य प्राथमिकतामा राखी बनेको शिक्षा ऐन, २०२८ आठौँ संशोधन प्रमाणीकरण भइसक्दा पनि शिक्षा नियमावलीको टुङ्गो अझै लाग्न सकेको छैन ।
शिक्षा ऐनको भावना अनुसार शिक्षा नियमावली तयार पारिने भन्दै शिक्षा मन्त्रालयका अधिकारीले गत कात्तिकमा नै नियमावलीको मस्यौदा सार्वजनिक गरेको भएपनि त्यसले अझै कानुनी रुप लिन सकेको छैन ।
हाल नियमावलीको उक्त मस्यौदा अनिर्णयको बन्दी भएको छ भने सरोकारवाला निकायले असन्तुष्टि जनाएका छन् ।
ऐनअनुसार शिक्षक तथा कर्मचारीको अवकाशको सुविधा, अस्थायी शिक्षकको व्यवस्थापन, उपदान, औषधि उपचार खर्च उपलब्ध गराउन तत्काल बजेट नभएको अर्थ मन्त्रालयले जनाउ दिएपछि कसरी निकास निस्कन्छ भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन ।