सुनसरी ,९ पुस ।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरगत आज भएको एथलेटिक्सको १५ सय मिटर दौडमा नेपाल आर्मीका हरि रिमालले पदक जितेका छन् ।
ईटहरीमा आज बिहान सम्पन्न दौडमा आर्मीकै छत्रबहादुर दाहाललाई पछि पार्दै रिमालले प्रतियोगिताकै पहिलो पदक हात पारेका हुन् ।
उनले ४ मिनेट ४ दशमलब ३८ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए । रजत पदक बिजेता दाहालले ४ मिनेट ४ दशमलब ७३ सेकेण्डको समय निकाले ।
सो स्पर्धामा ४ मिनेट ११ दशमलब ४५ सेकेण्डमा दुरी पार गर्दै नेपाल पुलिसका करण खड्काले कास्य पदक हात पारे ।
यस्तै आजै भएको महिला १५ सय मिटरको स्पर्धामा पनि आर्मीको बर्चश्व रह्यो । सो स्पर्धामा आर्मीकी सरस्वती भट्टराईले स्वर्ण हात पार्दा एपिएफकी फुलमती राणाले रजत र आर्मीकै लक्ष्मी पाण्डेले कास्य पदक जिते ।
सरस्वतीले ४ मिनेट ४३ दशमलब ३७ सेकेण्डको टाईमिङ निकाल्दा फुलमतीले ४ मिनेट ५३ दशमलब ९६ सेकण्डको टाईमिङ निकालिन । कास्य बिजेता पाण्डेले निर्धा्रित दुरी ४ मिनेट ५६ दशमलब २८ सेकेण्डमा पार गरिन् ।