काठमाडौ ९ पौष ।
जुम्लामा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारका लागि पनि ठूलो आर्थिक भार खेप्नुपर्ने कर्णालीका बिरामीलाई सहज भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जिल्लामै राम्रो सेवा दिन थालेपछि त्यहाँ छिमेकी जिल्लाका बिरामी समेत उपचारका लागि पुग्ने गरेका छन् ।
चार वर्षअगाडि सेवा प्रारम्भ गरेको अस्पतालमा अहिलेसम्म १ हजार ६ सय ४९ जनाको शल्यक्रिया नै गरिसकेको अस्पतालले जानकारी दिएको छ । चार वर्षको अवधिमा ७ सय ३६ जनाको ठूला तथा जटिल एवम् बाँकी सामान्य शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा. निरेश थापाले बताउनु भयो ।
यीमध्ये ३ सय ५८ जनाको इमर्जेन्सीमा शल्यक्रिया भएको तथ्याङ्क छ । डा. थापाका अनुसार २०७१ सालदेखि अहिलेसम्म ६७ जनाको एपेन्डिसाइटिसको मात्रै शल्यक्रिया भएको छ ।
चिकित्सा क्षेत्रमा एपेन्डिसाइटिसको उपचारलाई निक्कै जटिल मानिन्छ । २०६८ सालमा जुम्लामा प्रतिष्ठानले सेवा सुरु गरेपछि जुम्ला लगायत कर्णालीका मुगु, कालीकोट, जाजरकोट, बाजुराका बिरामी जुम्ला आई उपचार सेवा गरिरहेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीवासीका लागि बरदान रहेको र यसले कर्णालीका मानिसका लागि नयाँ जीवन दिइरहेको नेपाल पत्रकार महासङ्घ जुम्लाका सचिव सुरबहादुर सिंहले बताउनुभयो ।
संसद्ले ऐन पारित गरेर २०६८ सालमा जन्म भई जुम्लामा सेवा प्रारम्भ गरेको कर्णाली स्वास्य विज्ञान प्रतिष्ठानमा हाल ७ जना विशेषज्ञ चिकित्सकसहित ३४ जना डाक्टर र एक सय ७७ जना कर्मचारी कार्यरत भएको प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी दिनुभयो ।
हाल शिक्षण अस्पतालमा ३ सय शैयाको सेवासहितको नयाँ भौतिक संरचना बनिरहेको छ ।