काठमाडौं, पुस ८ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गतिरोध अन्त्य गर्न चुनावबमा जानुको विकल्प नभएको बताउनु भएको छ ।
नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री स्व। कृष्णप्रसाद भट्टराईको ९३औं जन्मजयन्तीको अवसरमा ललितपुरको बाडेगाउँस्थित भट्टराई आश्रममा गरिएको कार्यक्रममा बोल्दै ओलीले वर्तमान अवस्थामा संविधान संशोधनभन्दा राजनीतिक गतिरोध अन्त्यका लागि चुनावी वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
तत्काल चुनावको मिति घोषणा गरे आफूहरुले चुनावमा भाग लिने र सरकारलाई सहयोग गर्ने अध्यक्ष ओलीको भनाइ छ ।
उहाले संक्रमणकाल टुंग्याउने र चुनाव गराउने दायित्व रहेको वर्तमान सरकारलाई बाह्यशक्तिको एजेन्डाभन्दा राष्ट्रिय एजेन्डालाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्को माघ महिनासम्म स्थानीय, प्रान्तीय र राष्ट्रिय चुनाव गराउन नसकिए मुलुकमा संवैधानिक संकट उत्पन्न हुने बताउनु भयो ।
कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले गरेको कार्यक्रममा बोल्ने अरु वक्ताले अहिलेको अवस्थामा भट्टराईले देखाएको बाटोमा हिँड्नसकेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका थिए ।