सुनसरी, पुस ८ ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष फुटबल प्रतियोगिताको शुक्रबारको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
सशस्त्रले मध्यपश्चिमाञ्चलविरुद्ध गोलवर्षा गर्दै जित हासिल र्गयो भने आर्मीले सुदूरपश्चिमाञ्चलविरुद्ध कठिन जित दर्ता गरेको छ ।
धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको पहिलो खेलमा सशस्त्रले मध्यपश्चिमाञ्चललाई ८–० ले हरायो ।
सशस्त्रको जितमा युवराज खड्काले ४ गोल गरे भने अञ्जन विष्ट, श्याम नेपाली, राजेन्द्र रावलले एक–एक गोल गरे । मध्यपश्चिमाञ्चलका चेतन थारुले एक आत्मघाती गोल गरे ।
आजै भएको दोस्रो खेलमा त्रिभुवन आर्मीले सुदूरपश्चिमाञ्चलविरुद्ध १–० को कठिन जित दर्ता र्गयो । खेल अवधिभर सुदूरपश्चिमाञ्चलको कडा दबाब झेलेको आर्मीका तर्फबाट एकमात्र गोल सुमन अर्यालले गरेका थिए ।
लिग चरणको अंकतालिकामा नेपाल पुलिस, सशस्त्र, आर्मी र मध्यमाञ्चलले समान ३–३ अंक बटुलेका छन् ।
यसैबीच सुनसरीको दुहावी रंगाशालामा जारी महिला फुटबल अन्तरगतको खेलमा विभागिय टोली नेपाल पुलिस फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तरगत आज भएको खेलमा पुलिसले मध्यमान्चाल विकास क्षेत्रलाई ५–० गोल अन्तरले पराजित गरेको हो । पुलिसका लागि निरु थापाले ह्याट्रिक गरिन् ।
पुलिसका लागि थप दुई गोल निर्माला उपाध्यायले गरेकी थिइन् ।