काठमाण्डौ , ८ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र निर्वाचन गर्नका लागि दलहरुबीच छिट्टै सहमति जुट्ने दाबी गर्दै सरकार निर्वाचनको तयारीमा लागेको बताउनु भएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाले संविधानको भावना र मर्मअनुसार १३ महिनाभित्र तीनै निकायको निर्वाचन गर्नुपर्ने भएकाले स्थानीय निकायको वैशाखमा, प्रदेश र केन्द्रीय निर्वाचन मङ्सिरमा गर्न सकिने बताउनु भयो ।
प्रधानमन्त्री दाहालले दलहरु संविधान घोषणा गर्ने बेलामा मिलेजस्तै वादविवादको अन्त्य गर्नुपर्ने र दलहरुबीच असहमतिका विषय पनि संसद्मै छलफल गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
कानुनको पालना नागरिकले मात्र नभएर राज्यले पनि गर्नुपर्ने भन्दै उहाले दण्डहीनताको अन्त्य, स्वतन्त्र न्यायपालिका, कानुनी शासन सुदृढीकरण गर्नका लागि सरकारी कानुन व्यावसायीको क्षमतावान हुनुपर्ने आवश्यकता औँल्याउनु भयो ।