काठमाडौ ८ पौष ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नागरिकलाई न्यायमा पहुँच र्पुयाउनका लागि सरकारी वकिलको योगदान महत्वपूर्ण हुने बताउनु भएको छ ।
सरकारी वकिलहरुको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले न्यायमा पहुँच नपुगेका समुदायलाई न्याय दिलाउन सरकारी वकिलको महत्वपूर्ण योगदान हुने भएकाले जनताप्रति जिम्मेवार हुन आग्रह गर्नुभयो ।
फौजदारी न्याय प्रशासनको महत्वपूर्ण अङ्गका रुपमा रहेको महान्यायाधिवक्ता र सरकारी वकिलले कानुनी शासन कायम राख्न क्रियाशील हुनुपर्ने उहाँको भनाई छ ।
राष्ट्रपति भण्डारीले मुलुकको लोकतन्त्र, शान्ति सुरक्षा, कानुनी शासन, दण्डहीनताको अन्त्य, मानव अधिकारको रक्षाका लागि फौजदारी न्याय प्रशासन सुदृढीकरण गर्न सरकारी वकिलको क्रियाशीलताको अपरिहार्य रहेको बताउनु भयो ।
यस्तै समारोहलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतले गरिब, निमुखा र पछाडि परेका वर्गका लागि न्यायमा पहुँच अभियान सञ्चालन गरेको र त्यसलाई सहयोग गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
त्यसैगरी सभामुख ओनसरी घर्तीले सरकारी वकिलहरुको काम कारबाहीलाई व्यवस्थित बनाउन सम्मेलन महत्वपूर्ण भएको भन्दै फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन सधैँ क्रियाशील हुनुपर्ने बताउनु भयो ।
महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले न्यायाधीश नियुक्तिका विषयमा पनि सरकारी वकिलले आफूहरुलाई किनारामा पारिएको अनुभूति नगर्ने गरी समानुपातिक प्रतिनिधित्वलाई विचार गरिनुपर्नेमा जोड दिनुभयो ।
‘प्रभावकारी अभियोजन, सुदृढ प्रतिरक्षा, व्यावसायिक सरकारी वकिल हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ तीन दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट ३ सय ५२ सरकारी वकिल सहभागी छन् ।