काठमाडौ ८ पौष ।
राजनीतिक खिचातानीका कारण नियुक्ति हुन नसक्दा काठमाडौं विश्वविद्यालय दुईसाता यता उपकुलपति विहीन बनेको छ ।
शिक्षामन्त्री धनीराम पौडेल र बोर्ड अफ ट्रस्टिजका अन्य दुई सदस्य सुरेशराज शर्मा र दमननाथ ढुंगानाबीचको विवादका कारण छनोट प्रक्रिया लम्बिएको हो ।
डा। रामकण्ठ माकाजुको मंसिर २६ मा पदावधि सकिएपछि काठमाडौ विश्वविद्यालय उपकुलपति विहीन रहेको छ ।
विश्वविद्यालय सभाले मंसिर १३ मा शिक्षामन्त्री पौडेलको संयोजकत्वमा बोर्ड अफ ट्रस्टिजका सदस्यहरु शर्मा र ढुंगाना सदस्य रहने गरी उपकुलपति छनोट समिति बनाएको थियो ।
शर्मा र ढुंगाना आफ्नै समूहका माकाजुलाई पुनः उपकुलपति बनाउन चाहन्छन् भने पौडेल जर्नादन लामिछानेसहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने पक्षमा छन् ।
जसले गर्दा उपकुलपतिका उम्मेदवार छनोट गर्न नसकिएको बताइएको छ । विश्वविद्यालय नेतृत्वविहीन भएपछि महत्वपूर्ण कामकारबाही समेत प्रभावित भएका छन् ।