काठमाडौ ८ पौष ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको दाबी गर्नुभएको छ । राजधानीमा आज कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
प्रमुख दल कांग्रेस माओवादी र प्रतिपक्षी दल नेकपा एमालेसहितको सहमतिमा नै संशोधन प्रस्ताव संसदमा दर्ता भएको दावी गर्दै उहाँले एमालेले बखेडा झिकेको आरोप लगाउनु भयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संशोधन प्रस्तावमा हस्ताक्षर गरेको खुलासा गर्दै उहाले पूर्वसम्झौताको पालना गर्नुको साटो एमालेले जनतालाई भ्रममा पार्ने काम गरेको जिकिर गर्नुभयो ।
सभापति देउवाले विखण्डनकारी नीति त्यागेर राष्ट्रिय एकतामा सहभागी हुन एमालेलाई आह्वान समेत गर्नुभएको छ । एमालेले सरकारमा हुँदा संसदवादी र सत्ता बाहिर हुँदा सडकवादी चरित्र देखाउनु दुःखद् भएको देउवाको भनाई छ ।
दलहरुसँग संविधान संशोधन मार्फत मधेसी जनताका मुद्दालाई सम्बोधन गर्दै निर्वाचनमा जानुको विकल्प नभएको भन्दै सभापति देउवाले निर्वाचनसँगै संविधान कार्यान्वयन हुने र त्यसले लोकतन्त्र सुदृढ हुने भएकाले निर्वाचनमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।
कार्यक्रम बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव लगायतले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा आएको बताउनुभयो ।
तीन दिनसम्म चल्ने कांग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलनले काठमाडौं घोषणपत्र जारी गर्नेछ । सम्मेलनमा राजनैतिक दलहरुले आर्थिक व्यावस्थापनका लागि गर्ने चन्दा संकलन अभियानको भय, त्रासबाट मुक्त गर्ने उपाय, आयव्ययको पारदर्शीताको सार्वजनिकरण गर्ने व्यवस्था लगायतका बिषयमा छलफल हुने जनाएको छ ।
यस्तै सम्मेलनले अन्य लोकतान्त्रिक मुलुकमा जस्तै राजनितिक दललाई न्युनतम आर्थिक सहयोगको व्यावस्था गर्न आवश्यक पहल गर्न राज्यको ध्यानाकर्षण गर्ने राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक गोविन्द पुडासैनीले बताउनु भयो ।