प्रेम सम्बन्ध खुलेपछि गाउँनिकाला गरी घरसमेत भत्काइयो

प्रेम सम्बन्ध खुलेपछि गाउँनिकाला गरी घरसमेत भत्काइयो

  • शुक्रबार, पुस ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

गुल्मी, ८ पुस ।

दलित र गैरदलित त्यसमाथि उमेर पनि निकै फरकबीच प्रेम सम्बन्ध रहेको भन्दै अर्बेनीका स्थानीयवासीले दुवैलाई गाउँ निकाला गरेका छन् । अर्बेनी–५ का ७५ वर्षीय लालबहादुर सुनार र छिमेकी ४३ वर्षीया सावित्रा न्यौपानेबीच सम्बन्ध रहेको भन्दै गाउँलेले गाविस कार्यालयमै छलफल गराएर हस्ताक्षरसमेत गराई गाउँ छाड्न लगाएका हुन् । न्यौपानेका आफन्तको दबाबमा सुनारको घरसमेत भत्काइएको छ ।

सरदमुकाम तम्घासबाट झन्डै ६० किमि टाढा पूर्वमा रहेको अर्बेनी गाविसमा साताअघि यो घटना भए पनि डरले दुवै जना जंगलमा गएर बसेकाले यसको खुलासा हुन सकेको थिएन । स्थानीय दलित अधिकारकर्मीले बेपत्ता भएको भन्दै खोज्दा जंगलको ओडारमा फेला परेपछि घटना खुलेको हो ।

पुस १ को बिहान ५ बजे लालबहादुरको घरमा सावित्रालाई फेला पारेपछि सावित्राका भतिज चिन्तामणि न्यौपानेको नेतृत्वमा भेला भएका स्थानीयले दुवैलाई गाउँ घुमाएर गाविसमा कागज गराई गाउँबाटै धपाएका थिए । गाविसमा भएको छलफलमा स्थानीय कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूसहित आमा समूह र महिला प्रतिनिधि समेतको उपस्थिति थियो । ‘एक्कासि मान्छे जम्मा भए र उनीहरूले नै लेखेको कागजमा औंठाछाप लगाउन लगाए,’ लालबहादुरका छोरा ३७ वर्षे अनुरामले भने, ‘त्यतिले पनि नपुगेपछि घर नै भत्काउन लगाए ।’ बाबु र ती महिलालाई गाउँबाट धपाएपछि फर्केर आएका स्थानीयले घर भत्काउन दबाब दिएका थिए । ‘नभत्काए आगो लगाइदिन्छौं भनेपछि आफैं भत्काएँ,’ उनले भने ।

अनुरामले नै बाबु खोजिदिन भन्दै स्थानीय दलित अगुवालाई गुहारेपछि सबैको पहलमा दुवै जनालाई छिमेकी गाविस हर्मिचौरको हार्से जंगलभित्र भीरको ओडारमा फेला पारिएको हो । ‘एक रात हर्मिचौरको नेपाली सेनाको क्याम्प नजिकैको पीपलको रूखको फेदमा बसेर बितायौं,’ पीडित लालबहादुरले भने, ‘त्यहाँ धेरै चिसो भएपछि जंगलमा ओडार खोज्दै गएका हौं ।’ ओडारमा दुई दिन र दुई रात कटाएको उनले बताए । ‘सबै भेला भएर गाउँमा बस्न पाइँदैन भने,’ उनले भने, ‘सबैका अघि मेरो मात्र केही चलेन, त्यसैले घर छोडेर हिँड्यौं ।’ लालबहादुरकी श्रीमतीको २२ वर्षअघि मृत्यु भएको थियो ।

स्थानीय खिमलाल न्यौपानेका अनुसार विपन्न परिवारकी सावित्राका श्रीमान् बोल्न नसक्ने छन् । तीन छोरा र एक छोरीकी आमा सावित्रालाई श्रीमान्ले कुट्ने र दु:ख दिने गरेकाले लालबहादुर अभिभावक जस्तै लागेर सँगै बस्न खोजेको उनले बताइन् । ‘हामी राजीखुसी सँगै बस्न तयार भएका हौं,’ उनले भनिन्, ‘तर, गाउँलेले समाज नै बिग्रन्छ भन्दै गाउँमा बस्न दिएनन् ।’ बाबुलाई गाउँमा राख्न नदिएको र बस्ने घरबास समेत भत्काइदिएकाले न्याय खोज्न भन्दै छोरा अनुरामले बिहीबार सदरमुकाम आएर प्रहरीमा उजुरी दिएका छन् ।

दुई जनाबीच सम्बन्ध रहेको खुलेपछि स्थानीयले राजनीतिक दलका अगुवासहित समाज भेला भएर दुवैलाई कागज गराएका थिए । कागजमा लालबहादुर र सावित्रीको माग निवेदनअनुसार दुवै जनाको राजीखुसीबाट भएको सम्बन्धका कारण अबदेखि पतिपत्नीका रूपमा रही चन्द्रकान्त न्यौपानेको अंशमा दाबी नगर्ने र काजकिरियासमेत गर्न नपर्ने उल्लेख छ । उक्त कागजमा गाविस सहायक झविलाल न्यौपाने, कांग्रेस सभापति रामप्रसाद न्यौपाने, एमाले अध्यक्ष देवीप्रसाद न्यौपाने, माओवादी केन्द्रका पुनाभद्र न्यौपाने र महिला प्रतिनिधि हरिकला न्यौपानेसहित स्थानीय २८ जनाको उपस्थिति र हस्ताक्षर छ ।

एमाले गाउँ कमिटी अध्यक्ष न्यौपानेले दुवै जनालाई गाविस कार्यालयमा पुर्‍याएपछि मात्र आफूले जानकारी पाएको बताए । ‘छलफलमा म पनि सहभागी भएको हुँ,’ उनले भने, ‘हामी राजीखुसी श्रीमान्श्रीमती भएर बस्छौं भनेपछि त्यहीअनुसार कागज गराइएको हो, गाउँबाटै निकाल्ने कुरा कसैले गरेका होइनन् ।’ गाउँमा बस्न अप्ठ्यारो मानेर दुवै जना आफैं छाडेर हिँडेको दाबी उनले गरे । गाविस सहायक झविलाल न्यौपानेले लालबहादुरका छोरा अनुरामले आफैंले घर भत्काएको दाबी गरे । ‘घर जीर्ण भएकाले उसले पोहोर नै भत्काउने प्रयास गरेको थियो,’ उनले भने, ‘मैले नभत्काउन आग्रह गर्दागर्दै पनि आफैं भत्काएको हो ।’ चन्द्रकान्तका आफन्तले घर जलाइदिने धम्की दिएको हुनसक्ने भए पनि आफूलाई जानकारी नभएको उनले बताए ।

पीडितको उजुरीपछि सार्वजनिक अपराध ऐनअन्तर्गत बिहीबार मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए । ‘उजुरी आएको छ,’ उनले भने, ‘पीडक पक्षलाई पनि बोलाएका छौं, थप अनुसन्धान हुँदै छ ।’ -कान्तिपुर दैनिकबाट 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ